भारतले पनि पाकिस्तानी विमानका लागि बन्द गर्यो आफ्नो हवाई क्षेत्र
प्रकाशित मिति
२०८२ बैशाख १८ गते, बिहीबार ११:२४
वैशाख १८, २०८२ काठमाडौँ: पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच, भारतले पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका छन् । यस सम्बन्धमा, भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले बुधबार साँझ एक नोटम जारी गरेको छ ।

हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा ‘विमानकर्मीलाई सूचना’ जारी गरिन्छ यसलाई नोटम भनिन्छ ।

यो प्रतिबन्धको अर्थ भारतीय हवाई क्षेत्र पाकिस्तानमा दर्ता भएका, पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि उपलब्ध हुनेछैन । यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुने बताइएको छ ।
भारत र पाकिस्तान बीच कुनै सिधा उडान छैन। पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानहरूका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।
पाकिस्तानले भने यसअघि नै आफ्नो हवाई क्षेत्र भारतीय विमानका लागि प्रतिबन्ध लगासकेको छ ।
अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिन पछि, अप्रिल २३ मा, भारतले पाकिस्तान विरुद्ध धेरै कदम चालेको थियो । यसमा सिन्धु जल सन्धि ‘निलम्बन’ गर्ने, अटारीमा रहेको एक मात्र सञ्चालनयोग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश छ।
प्रतिक्रियामा, पाकिस्तानले भारतीय विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्यो र तेस्रो देशहरू मार्फत भारतसँगको सबै व्यापार निलम्बन गर्यो । सिन्धु जल सन्धिको बारेमा, पाकिस्तानले यदि पानी रोक्न वा मोड्ने कुनै प्रयास गरियो भने, यसलाई ‘युद्धको कार्य’ मानिने बताएको छ ।




प्रतिकृया