सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
प्रकाशित मिति
२०८२ बैशाख ९ गते, मंगलवार ०१:२८

वैशाख ९, २०८२ काठमाडौँ: नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको र त्यसपछि मात्रै आफूहरु कार्यक्षेत्रमा फर्किने बताएका हुन् ।
‘विद्यालय शिक्षा ऐन जारी गराएर नै जाने हो । अहिले पनि राजनीतिक दलहरु संवेदनशील हुने हो भने, ठीक ढंगले काम गर्ने हो भने १६३ बुँदामध्ये सयभन्दा बढी बुँदामा उपसमितिमा छलफल भइसकेको छ । दुई दिन थप मेहनत गर्ने हो भने उपसमितिले काम सक्छ । दुई दिनमा समितिबाट काम टुङ्ग्याउन सकिन्छ भनेर समितिका सभापतिले भन्नु भएको छ । अनि ११÷१२ गतेसम्म काम सकिने अझै पनि अबवस्था छ,’– उनले भने ।
आफूहरुसँग विगतमा गरिएका सहमतिको पालना गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले विगत २० दिनदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । अध्यक्ष सुवेदीले आफूहरुले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको उनले सुनाए । ‘सभामुखले अस्ती हामीसँग भेट्नुभयो । १२ गते सर्वसम्मतीमा दर्ता गर्दिनुभयो भने १३ गते म जारी गर्दिन सक्छु, अझ प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने प्रबन्ध पनि रहेछ । त्यो गरियो भने एकै दिनमा राष्ट्रिय सभामा जान नपर्नेगरी यो विधेयक टुङ्याउन सकिने छ । विद्यालय शिक्षा ऐन एउटा आकारमा नपुगिकन, जारी हुने सुनिश्चित नभइकन काठमाडौंबाट फर्किएर जाँदैनौं,’– उनले भने ।
आफूहरुले सरकारसँग २०७५, ०७८ र ०८० विभिन्न सम्झौता गरेको र अहिले तिनै सम्झौता कार्यान्वयनको लागि आन्दोलन भइरहेको र यसमा कुनै सहमति हुन नसक्ने बताए । २०८० भदौ २७ गते विद्यालय शिक्षा विधेयक दर्ता भएर संसद्को चार वटा अधिवेशन पार हुँदा पनि ऐन जारी नहुनु दुःखद् रहेको उनले बताए । बारम्बार उपसमिति गठन गर्दिनुस्, सहमतिमा कोरम पुग्दैन, कोरम नपुगेपछि मुद्दाहरुमा छलफल हुँदैन, उपसििमतले छिटो काम गर्छ भनेर पटक–पटक भन्द सरकारले सुनेको नसुन्यै गरेको र काठमाडौं केन्द्रीत आन्दोलनमा आएपछि मात्रै उपसमिति गठन भएर अहिले काम भइरहेको अध्यक्ष सुवेदीले बताए । उनले राज्यका संयन्त्र बाघ पसिसकेपछि खोर बनाउन खोज्ने र बाढी आइसकेपछिमात्रै नियन्त्रणका उपायहरु खोज्ने चरित्रको रहेको बताए । सरकारको कारणले शिक्षकहरु अहिले एकशुत्रीय मागको साथ आन्दोलनमा आउनुपरेको बताए ।
उनले अहिलेको परिस्थितिमा कक्षा १२ को परीक्षा केही समय रोक्न नै उपयुक्त हुने बताए । प्रधानाध्यापक, शिक्षक र कर्मचारी उक्त परिक्षामा सहभागी नहुने निर्णय आफूहरुले गरिसकेको उनले सुनाए । ‘यो परीक्षामा हामी सामेल हुँदैनौं भनेर निर्णय गरेर घोषणा गर्दैगर्दा यहाँ कोही दुःखी कोही छ भने हामी शिक्षक कर्मचारी दुःखी भयौं । हामीले जसोतसो गरेर एसईई परीक्षा सञ्चालन गर्यौं । यद्यपि त्यतिबेला पनि हामी आन्दोलनमा थियौं । एसईई पूरा हुनसाथ हामीले १२ को परीक्षामा बाधा हुनसक्छ, जिम्मेवार भएर काम गर्नुस् भनेर राज्यका सबै निकायसँग भन्यौं । उहाँहरुले सुन्नुभएन । यो परीक्षामा प्रधानाध्यापक, शिक्षक र कर्मचारी सहभागी हुँदैनन् । अब राष्ट्रिय परीक्षा बोर्डले कसरी गर्छ उही जान्छ,’– उनले भने ।
अहिलेको समस्या समाधान भएपछि द्रुत गतिमा बढीभन्दा बढी शिक्षकहरु उपस्थित भएर एसईईको कपी परीक्षण गरिने पनि उनले बताए । अहिले आफूहरुको महाअभियानलाई साथ दिन उनले सबै सरोकारवाला निकायहरुसँग आग्रह गरे ।
प्रतिकृया