• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

परिक्रमाका यात्रुहरुका लागि हेल्पडेस्क अति नै सहयोगी

प्रकाशित मिति

२०८१ फाल्गुन २५ गते, आईतवार १२:५७

फाल्गुण २५, २०८१ धनुषाधाम : नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ।

कार्यक्रम संयोजक दिपक यादवका अनुसार धनुषा जिल्लाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको धनुषाधाम, जहाँ भगवान रामचन्द्रद्वारा सीता स्वयंवरका बेला तोडिएको शिवजीको धनुषको एक टुक्रा अहिले पनि जिवन्त रहेको मान्यता छ, त्यही स्थानमा परिक्रमाको नवौं दिन साधु–सन्तहरूको बास हुने भएकाले हेल्पडेस्क सञ्चालन गरिएको हो।

Kamana Sewa

मिथिला मध्यमा परिक्रमा ठेरा कचुरी (धनुषा) बाट सुरु भई भारतको कल्याणेश्वर गिरिजास्थान हुँदै महोत्तरी जिल्लाका पाँच स्थानमा बास बस्दै पुनः धनुषा प्रवेश गरेको छ। आइतबार सतोषर, सोमबार औरही तथा हौसाहामा बास बसेपछि पुनः कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न हुने परम्परा रहेको क्लोथ बैंकका सचिव मनिष श्रीओमले बताएका छन।

Classic Tech Desktop

परम्परागत रूपमा हरेक वर्ष आयोजना गरिने मिथिला मध्यमा परिक्रमाले हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ। यसले धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गर्दछ।

नेपाल–भारत खुला सीमाका फाइदाबारे बोल्दै नेपाल–भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले खुला सीमाका कारण श्रद्धालु भक्तजन र साधु–सन्तहरूलाई परिक्रमामा सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन गर्न मद्दत पुगेको बताए।

कार्यक्रम बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको र आइतबार सतोषर, सोमबार औरही,हौरसाहामा पनि सोही सेवा उपलब्ध गराइने क्लोथ बैंक नेपालका बाल अभियानी आदित्य झाले जानकारी दिए।

हेल्पडेस्क सञ्चालनमा कार्यक्रममा सह–संयोजक रुबी झा, क्लोथ बैंकका कार्यक्रम संयोजक शिक्षक रञ्जित झा, सदस्य धनेश्वर ठाकुर, सोनी झा, दीपेन्द्र पासवान लगायतको सक्रिय सहभागिता रहेको थियो। सयौं संख्यामा साधु–सन्त तथा यात्रीहरूले हेल्पडेस्कबाट सेवा लिएको जानकारी प्राप्त भएको छ।

प्रतिकृया