भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
प्रकाशित मिति
२०८१ माघ २५ गते, शुक्रबार ११:५८
माघ २५, २०८१ काठमाडौँ: फेरान टोरेसको ह्याट्रिक मद्दतमा भ्यालेन्सियालाई हराउँदै क्याटलान क्लब बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको क्वार्टरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–० को फराकिलो अन्तरले जित्दै अन्तिम चारमा स्थान बनाएको हो। बार्सिलोनाका लागि फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले एकरएक गोल गरे ।
खेलको पहिलो हाफमै ४–० को अग्रता बनाएको बार्साले दोस्रो हाफमा एक गोल मात्र थप्यो। फेरान टोरेसले खेलको तेस्रो मिनेटमै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले १७ र ३०औँ मिनेटमा गोल थप्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे ।
खेलको २३औँ मिनेटमा पेड्रीको पासमा फर्मिन लोपेजले बार्सिलोनाको अग्रता फराकिलो पारे । लामिन ले ५९औँ मिनेटमा राफिन्हाको पासमा गोल गर्दै टोलीलाई ५–० को अवस्थामा ल्याए । गएराति नै भएको अर्को क्वार्टरफाइन्लमा रियल सोसिडाडले ओसासुनालाई २–० ले हराउँदै सेमिफाइनलमा पुगेको छ ।
योसँगै कोपा डेल रे को सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।






प्रतिकृया