५ वर्षमा कृषि मन्त्रालयले बाँड्यो १ खर्ब ७ अर्ब अनुदान
प्रकाशित मिति
२०८१ पुष २८ गते, आईतवार ०५:१३

पुष २८, २०८१ काठमाडौँ: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ । मन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गरेका हुन् ।
५ वर्षमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन्। त्यसमध्ये प्रत्यक्षतर्फ कृषि सहकारी र समूहले लगेको २० अर्ब ३० करोड रहेको छ ।
अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए ।
मन्त्री अधिकारीले कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै अनुदान लिनेको नाम सार्वजनिक गर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लैजानेहरूको नाम सार्वजनिक गरिएको जनाउँदै मन्त्री अधिकारीले अनुदान रकमको प्रयोगका बारेमा खोज्न र जान्न पनि आग्रह गरे।
‘मन्त्रालयबाट लगिएका र दिइएका अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि हामीले समिति नै गठन गरेर काम सुरु गरिसकेका छौं,’ उनले भने,‘कृषि अनुदान लगेर दुरुपयोग गरिएको छ भने कारबाही हुन्छ र हुनुपर्दछ।’
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा प्रदेश र स्थानीय सरकारबाट वितरण गरिएका अनुदान रकम नपर्ने उनले जानकारी दिए।
प्रतिकृया