• ४ साउन २०८३, सोमबार
  • ९:२८ बेलुका

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी, आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने

प्रकाशित मिति

२०८१ कार्तिक १२ गते, सोमबार ११:३३

कार्तिक १२ , २०८१ जलेश्वर: संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०% सम्म बढाउने, राष्ट्रिय सभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको प्रतिगामी संशोधनको प्रस्ताव भनेको छ । पहिचान आधारित प्रदेशको सीमांकन,पूर्ण समावेशी समानुपातिक पद्धति र निर्वाचन क्षेत्रको रुपमा प्रदेश, थ्रेस होल्डको समाप्ति, राष्ट्रिय सभाको वर्तमान स्वरुपमै जनसंख्याको हिसाबले प्रदेशहरुबाट प्रतिनिधित्व, प्रादेशिक राजनीतिक दलहरुको मान्यता, तथा राज्यका अंगहरुमा समानुपातिक समावेशी उपस्थिति संयुक्त मधेश संघर्ष समितिका मांगहर रहेका छन् । समितिमा तराई-मधेश लोकतान्त्रिक पार्टी, मधेशी राष्ट्रीय मुक्ति मोर्चा नेपाल, नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी र एकीकृत समाजवादी पार्टीका समान विचारका नेताहरू शामिल छन् । समितिले यस अघि भाद्र ३१ गते धनुषाको जनकपुरधाममा पहिलो खबरदारी सभा गरेको थियो । मधेशको ठूलो पर्व छठ सकिने बित्तिक्कै सबै जिल्लाहरु खबरदारी सभा सम्पन्न गर्ने र त्यसपछि कार्यक्रमको अर्को चरणमा प्रवेश गर्ने तमलोपाका प्रचार विभाग प्रमुख उमेश मण्डल ले बताए ।

आजको खबरदारी सभामा बोल्दै पूर्व मन्त्री र माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मधेशका नेताहरुले कसैले देला र पाइएला भन्ने लालच छोडेर संघर्षमा सहभागी हुनु पर्दछ किनभने यो मात्र एक मात्र बाटो हो भनेका थिए । यादवले अहिलेको सरकार मधेश दबाउने र राज गर्ने नीतिमा चलेको आरोप लगाए ।

Kamana Sewa

तमलोपाका अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले काँग्रेस र एमालेको भ्रष्टाचारको संरक्षण र मधेशी-थारुलाई राज्यको मामिलाबाट सकेसम्म वहिष्कृत गर्ने यी दुई प्राथमिकता र एजेन्डा रहेको बताउँदै स्थायित्वका कुरा गर्नेहरु कस्तो स्थायित्व चाहन्छन् भनी प्रश्न गरे । उनले काँग्रेस-एमालेको अनौठो गठबन्धन निर्बाध सुन तस्करी, भूटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा घोटाला, गिरी टीबन्धु स्टेट घोटाला, सहकारीको अर्बौं रकम हजमपच जस्ता भ्रष्टाचारको काण्ड र भ्रष्टाचारीहरु संरक्षण तथा यस्तैको निरन्तरताको निमित्त स्थायित्वको कुरा गर्छन् भन्ने आरोप लगाए । दुई दलीय व्यवस्था ल्याएर काँग्रेस एमाले मात्र शासन गर्न खोजेको बताउँदै उनले कहीं न हुने यस्तो गठबन्धनको यात्रा यसैको निमित्त भएको भने । अध्यक्ष लालले संविधानको उल्टो संशोधनको कुरा गर्नेलाई मधेशी र थारुले उटाई दिने र यसको निमित्त जस्तो संघर्ष गर्नु परे पनि गर्न संयुक्त मधेश संघर्ष समिति तयार रहेको चेतावनी दिए । उनले मधेशका सबै शक्तिहरुलाई सत्ता गठबन्धनबाट बाहिरिएर संघर्षमा शामेल हुन अपील गरेका छन् ।

Classic Tech Desktop

तमलोपाका वरिष्ठ नेता तथा संविधानसभा सदस्य डा. विजय कुमार सिंहले वर्तमान निर्वाचन पद्धतिको पैसा, जात, धर्म, प्रशासनिक हस्तक्षेप, पार्टीमा नेताको तानाशाही जस्ता विकृतिको अन्त्य र समुचित समावेशी प्रतिनिधित्वको निमित्त समावेशी समानुपातिक निर्वाचन पद्धति नै एक मात्र समाधान हो बताए । यसमा पार्टीको कार्यक्रममाथि जनताले वोट गर्ने छन्, नेताहरु समूहहरुबाट जनाधारप्राप्त र लोकप्रियहरुलाई उम्मेदवार बनाउन बाध्य हुनेछन्, नातावाद, पैसा, जात, धर्म र प्रशासनिक चलखेल न्यून हुनेछ तथा पार्टीहरुमा आन्तरिक लोकतन्त्रको वृद्धि हुन्छ, भने । जबर्जस्ती संविधान जारी गर्दा संविधानसभाको मंचबाट अब देश सहमतिको आधारमा चल्ने र जनताको आकांक्षा अनुरुप संविधानको संशोधन हुने भनेका नेताहरु जनतालाई धोखा दिइरहेको आरोप लगाए ।

मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयोजक र संविधान सभा सदस्य जगत प्रसाद यादवले वर्तमान काँग्रेस र एमालेको गठबन्धन जनता र सिमान्तिकरणमा परेका समूहहरुले पाएको केही अधिकार पनि खोस्न थालेको यिनको षडयन्त्रबाट देखिएको छ भन्दै यसलाई मोर्चा र संयुक्त संघर्ष समितिले कुनै हालतमा सफल हुन दिने छैन भने ।

अर्का संविधानसभा सदस्य एकीकृत समाजवादीको नेता शीतल झाले मधेश विरुद्ध भइरहेको षडयन्त्र विरुद्ध सबै पार्टीका मधेशी नेताहरू एक ठाउँमा आउनु पर्ने विचार राखेका थिए ।

खबरदारी सभामा मधेश सरकारका पूर्व मन्त्री मधेश प्रदेशमा माओवादी संसदीय दलको नेता भरत साह, नेसपाको अध्यक्ष रामकुमार महतो, जनाधिकार पार्टीको अध्यक्ष इमदाद गद्दी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा महोत्तरीको अध्यक्ष बिजय यादव, तमलोपाका नेताहरु जोगिन्दर राय तथा बिमला साहले पनि मनतव्य राखेका थिए । महोत्तरी गाउँपालिकाको अध्यक्ष दिलिप पाण्डेको सभापतित्वमा भएको उक्त खबरदारी सभाको उद्घोषण तमलोपाको धिरेन्द्र सिंहले गरेका थिए ।

प्रतिकृया