तत्काल प्राकृतिक संकटकाल घोषणा गरौं, प्रधानमन्त्री ओली र मेयर शाहबीच हात हालाहालमात्रै बाँकी छ : सुरेन्द्र केसी
प्रकाशित मिति
२०८१ आश्विन १५ गते, मंगलवार ०४:५०
असोज १५ , २०८१ काठमाडौँ: नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले तत्काल देशमा प्राकृतिक संकटकाल घोषणा गर्नुपर्ने माग गरेक छन्् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाको भने आलोचना गरे । उनले भने,‘मैले त प्रधानमन्त्रीलाई भ्रमण छोट्याएर आउन भनेको थिएँ । तर, उहाँ पूरा अवधि बसेर आउनुभयो । अब उहाँ आउँदा एयरपोर्ट नै अवरुद्ध थियो । फेरि यात्रुहरुले पनि दुःख पाउने स्थिति, यी अवस्थाहरु छन् । मैले देख्दाखेरि हामी कोही पनि सुध्रिने बाटोमा छैनौं । हाम्रा सबैका आ–आफ्ना कुराहरु छन् । यसबाट कहिल्यैपनि गन्तव्यमा पुग्न सक्दैनौं ।’
उनले बाढी तथा पहिरो प्रभावितहरुको उद्धारमा दलका भातृ संगठनको भूमिका नदेखिएको भन्दै आलोचना गरे । तर, काभ्रेका चणिकलाल तामाङले आफ्नो ज्यानको परवाह नगरी दुई जनालाई नख्खु खोलाबाट उद्धार गरेकोमा भने उनले प्रशंसा गरे । उनले भने,‘कति वटा वाईसिएलले, कति वटा युथ फोर्सले र कति वटा तरुण दलले त्यो हिम्मत गरे त ? अहिले टिचरलाई कुट्नुपर्ने भए र दुर्गा प्रसाईंलाई कालो मोसो लगाउनुपर्ने भए उनीहरु पछि हट्थे ? खोई त बोलेको तपाईंहरु ?’
देशमा पुरस्कार र दण्डको व्यवस्था नभएसम्म राम्रो थिति नबस्ने बताए । उनले नख्खुबाट दुई जनाको उद्धार गर्ने तामाङलाई सशस्त्र प्रहरी बलमा सिधै ईन्स्पेक्टर बनाईनुपर्ने प्रस्ताव गरे । उनले भने,‘केटो त हिम्मतवाला रहेछ । त्यसले कमाण्ड गर्न पायो भने राम्रो काम गर्न सक्छ नि । राम्रो काम गर्नेलाई रिवार्डको व्यवस्था गर्नुपर्छ ।’
उनले देशमा दीर्घकालिन र अल्पकालिन सडकको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले दशैं यसपटक काठमाडौंमै बसेर मनाउनुपर्नेमा जोड दिए । उनले आमा–बुवासँग दशैंको आशीर्वाद अनलाईनमै लिनपनि सुझाए । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयरबीच हात हालाहालमात्रै गर्न बाँकी रहेको सुनाए । न्यूरोडको सडक विस्तार गर्ने कुरा जटिल रहेको कुरा दृश्य देखिएको उनले स्मरण गराए । न्यूरोडको सडक विस्तारको सवालमा मेयर शाहको गलत आफूले नदेखेको पनि उनको भनाई छ । उनले विकास निर्माणमा राजनीति नगर्न दलका नेताहरुलाई सुझाव दिए ।
प्रतिकृया