• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा

प्रकाशित मिति

२०८१ श्रावण ४ गते, शुक्रबार १०:१२

साउन ४, २०८१ काठमाडौँ: डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिएका हुन ।

भदौ १६ गते देखि २१ गतेसम्म ६ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचन देखि सांस्कृतिक कार्यक्रम, घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलाको अवसरमा तिलगङ्गा आखाँ प्रतिष्ठानसँग सहकार्यमा निशुल्क आँखा उपचार तथा शल्यक्रिया देखि स्वास्थ्योपचार लगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताए ।

Kamana Sewa

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहेपनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्तव्य भएको बताए । उनले भने, साहसिक पर्यटनको लागि डोल्पा हिडनल्याण्ड हो । अध्यक्ष गुरुङले शेल रिवो डुग्ड्रा मेलाले डोल्पाको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिएको बताउँदै भने, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभुति हासिल गर्न सक्छन् ।

Classic Tech Desktop

खस तथा मस्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभुति लिन सकिने आयोजकले बताएका छन् । ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिव १५ हजारभन्दा बढि मानिसहरको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

६७ औं १२ वर्षे शेल रीवो डुग्डू (शे) मेला २०८ १ मुल आयोजक समिति र शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाले सह आयोजकका रुपमा यो मेलाको आयोजना गर्न लागेका हुन । प्रचार प्रसार समितिका संयोजक तथा शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउँदै यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिल्ने बताए । उनले भने, यो केवल मेला मात्रै नभई विश्व सामु हाम्रो भूगोल, सांस्कृतिक, कला, ऐतिहासिक मुल्या मान्याताका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सुन्दरतालाई भरपुर प्रयोगमा ल्याई डोल्पाको भविष्यसँग जोडिएको एउटा महत्वपूर्ण क्षण पनि हो। त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहकार्यको खाँचो छ ।

कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसदकी उप सभामुख इन्दिरा गुरुङले डोल्पा प्राकृतिक रुपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न थप सहज हुने बताइन ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्वका हिसावले मात्रै नभएर सास्कृतिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले भने, यस्ता मेलाको प्रचार प्रसार गर्न सके यसले पर्यटन विकासमा कोशेढुंगाको काम गर्न सक्छ ।

प्रतिकृया