बिआरआई र एमसिसी परियोजनाले नेपाललाई घाटा हुँदैन् : एमाले नेता रमेश पौडेल
प्रकाशित मिति
२०८१ असार ९ गते, आईतवार १०:४०

असार ९, २०८१ काठमाडौँ: सत्तारूढ नेकपा (एमाले)का युवा नेता रमेश पौडेलले सरकारले ल्याएको अहिलेको बजेटको विरोध गरेका छन् । उनले बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने टिप्पणी गरे । पौडेलले अहिले देशमा युवा नरहेको बताए । उनले भने,‘यही तरिकाले अबको २५÷३० वर्षपछि गाउँबस्ती रित्तो हुनेछ । गाउँमा युवाहरु नै छैनन् । गाउँमात्रै नभएर अहिले शहरपनि युवाविहीन छ । हाम्रो गाउँ यही अवस्था रहने हो भने ३० वर्षपछि गाउँहरु बसाईसराईंको प्रमाणपत्र दिनेमात्रै ठाउँ बन्छन् ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले देश बनाउन सकिने विश्वास दिलाए । उनले भने,‘नेपाल बनाउन सकिन्छ । समृद्ध नेपाल हामीले नै बनाउने हो । तर तरिका बदल्न जरुरी छ । शैली बदल्न जरुरी छ । भाका बदल्न जरूरी छ । नेपालका युवाहरुलाई स्वदेशमै गरिखाने बनाउनुपर्छ । सरकारले त्यहीअनुसार नीति ल्याउनुपर्छ । यो बजेटले ती कुरा समेट्न सकेको छ त? यो समिक्षाको विषय हो । बजेटले त्यतातर्फ समेटन । अहिलेको बजेटले कति युवालाई रोजगारी दिन्छ ?’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विदेशी पुँजी र प्रविधिको साथ लिएर देशको स्वाधिनता र स्वाभिमान बचाएर विकास गर्नुपर्नेमा जोड दिए । उनले बिआरआई, एमसिसीलगायतका परियोजनाले नेपाललाई घाटा नहुने स्पष्ट पारे ।
नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णले देशको राष्ट्रियतामाथि आँच नआउनेगरि विदेशी सहयोग लिनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘यो मुलुक अहिलेपनि आर्थिक रुपमा समृद्ध बनाउनुपर्छ । लामो समयपछि संविधान ल्याएका छौं । संविधान कार्यान्वयन भैरहेको छ । तर, देशमा समृद्धि हाँसिल गर्न सकिएन । देशलाई पुँजीको आवश्यकत्ता छ । विश्व बैंक र एडिबीले सहयोग गरेको देखिन्छ । कुनैपनि मुलुकले नेपाललाई आर्थिक सहयोग गर्न तयार छ भने हाम्रो देशको राष्ट्रियतामाथि आँच नआउनेगरि सहयोग लिनुपर्छ ।’
उनले चिनियाँ सहयोग परियोजना बीआरआईको सन्दर्भमा पनि देशको हित हुनेगरि अनुदानमा लिनुपर्ने सुझाव दिए । उनले भने,‘बीआरआईको बारेमा नेपाल र चीन दुई देशबीच पटक पटक वार्ता भएको छ । एडिबी र विश्व बैंकबाट ऋण लिँदा १.२ व्याजदर छ । चीनसँग प्रथम आग्रह के छ भने–एमसिसी हामीले अनुदानमा पाएका छौं । चीनले पनि अनुदान देओस । लोनको रुपमा दिन्छ भने ग्रान्ट लोन (एडिबी र विश्व बैंक) ले दिएजतिमा देओस । तर, चीनले भनेजस्तो उच्च दरको ब्याजको ऋण लिनुहुँदैन् । शर्तसहित अनुदान दिन तयार छ भने लिन तयार छौं ।’
भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले परराष्ट्र मामिलालाई देशको आन्तरिक राजनीतिको खेलको रुपमा लिन नहुने धारणा राखे । उनले सरकारले हालै विभिन्न देशका राजदूत फिर्ता बोलाउने काम गरेको र ती देशमा नयाँ राजदूतहरु नियुक्त गरेको प्रसंगमा यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘यसले अस्थिरता निम्तिन्छ । अस्थिरता भयो भने देश विकास हुँदैन् । नेपालको संविधानअनुसार स्थायी सरकार आउने परिकल्पना नै गर्न सकिँदैन् ।’ उनले पनि बीआरआई अनुदानमा लिँदा नै नेपालको हित हुने धारणा राखे । उनले भने,‘बीआरआई ऋणमा लिनहुँदैन् । तर, विश्व बैंकले दिएजस्तै कम व्याजदरमा भए लिनुपर्छ । चीन ठूलो देश भएकोले अनुदानमा दिँदा राम्रो हुन्छ । चीनले विकासको थालनी र अगुवाई गरेको छ । बीआरआईमा अनुदानको प्रतिशत बढि हुनुपर्छ ।’
राष्ट्रिय मुक्ति क्रान्तिका महासचिव केशव झाले नेपाल ईण्डो–प्यासिफिक एलाईनमेन्टमा बसेको भन्दै चीनको बीआरआई परियोजनाको ऋण लिन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘नेपाल ईण्डो प्यासिफिक एलाईनमेन्टमा बसेको छ । बीआरआईको पनि ऋण बोकिराख्ने ? यो हुँदैन् । ऋण बोकाउनेगरि बिआरआई जसरी प्रयोग भएको छ, त्यो नेपालको लागि अत्यन्तै हानिकारक हो । अनुदानको रूपमा मात्रै बीआरआई अघि बढ्छ भने लिन सक्छौं । अनुदानमा पाए बीआरआई नेपालको लागि सर्वोत्तम हितको कुरा हुन्छ ।’ झाले बीआरआईलाई लोनको रूपमा स्विकार गरिए देश र जनताको लागि पनि हानिकारक हुने दाबी गरे । उनले भने,‘बीआरआई अनुदानको रुपमा पाए उपयोग गर्नुपर्छ । लोनको रुपमा नेपालमा बीआरआई उपयोगी छैन् । बीआरआईको ऋणले त देश र जनतालाई भार बोकाउने काम गर्छ । नेपाली जनतामाथि ऋण बोकाउने छुट सरकारलाई छैन् । चीनको लगानीमा बनेको पोखरा विमानस्थलले अन्तर्राष्ट्रि उडान भैरहेको छैन् । ठूलो ऋणको भार बोकाएर कहिले पैसा उठाउने ? देशलाई फसाउने काम नगरौं ।’ उनले अहिले सरकारले ल्याएको बजेट कर्मकाण्डी नै रहेको आराेप लगाए ।
प्रतिकृया