अवैध बाटोबाट अमेरिका पठाइदिने भनी ५ कराेडभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ
प्रकाशित मिति
२०८१ बैशाख २८ गते, शुक्रबार ०३:०७
वैशाख २८, २०८१ काठमाडौँ: नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, सोही जिल्लाको साविक कर्थली गा.वि.स. १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।
उनका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ। यो गिरोहले करिव १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरूमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिव ७ करोड ५० लाख रकम लिएको खुल्न आएको बताए।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा श्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको जानकारी दिए । काठमाडौं महानगरपालिका ५ मालीगाउँ क्षेत्रमा हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा २ जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।
पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका ७ मन वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बि.क. रहेका छन् । उनीहरूको साथबाट ९८ लाख श्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको उनले जनाए ।
प्रतिकृया