• १४ जेष्ठ २०८१, सोमबार
  • 1:37 am

उपनिर्वाचन : इलाम-२ को मतगणना ११ बजेबाट सुरू हुने

प्रकाशित मिति

१६ बैशाख २०८१, आईतवार १०:४८

वैशाख १६, २०८१ इलाम : इलाम क्षेत्र- २ मा भएकाे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना आइतबार (आज) ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ । मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुनेछ ।

सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् बैशाख १५ अर्थात् शनिबार (हिजो) उपनिर्वाचन भएको हो । प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आजबाट सुरू हुँदै छ ।

प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवका अनुसार शनिबार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । मतदानपश्चात आइतबार बिहान ४ बजेसम्म मतपेटिका संकलन गर्न समय लागेको थियो। मतपेटिका इलाम-७, मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको हो ।

निर्वाचन आयोगका अनुसार मतगणना सुरू भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए ।

प्रतिकृया