• 7:46 pm

लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग पुनः सञ्चालन हुने आशामा स्थानीय

प्रकाशित मिति

March 27, 2024

चैत्र १४, २०८० पर्सा : लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुनेमा स्थानीयवासी आशावादी रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षामा रहेका हुन् ।

केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनःसञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगञ्जका व्यापारी कृष्णकुमार कानुले बताए । चिनी कारखाना सञ्चालनपछि स्वदेशी चिनीको आपूर्तिमा सहजता र रोजगारी सिर्जनामा मद्दत पुग्ने उनले भनाइ छ ।

तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ साल माघदेखि सञ्चालनमा आएको वीरगञ्ज चिनी कारखानाले कुनै बेला देशभर चिनीको मागलाई धान्ने गरेको थियो ।

राज्यको पनि लगानी रहेको उक्त चिनी उद्योग पुनः सञ्चालनमा ल्याउन सकिए मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बताए ।

हालै वीरगञ्ज चिनी कारखानाको स्थलगत अवलोकन गरेको प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कारखाना पुनः सञ्चालन गर्न सकिने जनाएको थियो ।

प्रतिकृया