• ४ साउन २०८३, सोमबार
  • ६:५८ बेलुका

केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने

प्रकाशित मिति

२०८० फाल्गुन २७ गते, आईतवार १०:३३

फागुन २७, २०८० काठमाडौँ: अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तरक्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेतासँग संवाद गर्न लागिएको हो ।

सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन आगामी शुक्रबार ११ बजेदेखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ । दुईबीचको संवाद राष्ट्रिय सभागृहको हलमा निशुल्क अवलोकन गर्न पाइनेछ ।

Kamana Sewa

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए ।

Classic Tech Desktop

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने छन् भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नेछिन् ।

छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् ।

शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरु शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् । सबै सेसनहरु पर्यटन बोर्डमा सञ्चालन हुने छन् ।

महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा हुनेछ भने समापन राष्ट्रियसभा गृहमा गरिने आयोजकले जनाएको छ । यो संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ ।

प्रतिकृया