फागुन २२, २०८० केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय
प्रकाशित मिति
२०८० फाल्गुन २३ गते, बुधबार १२:२७
फागुन २३, २०८० काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानिलकण्ठमा आज बस्यो । बैठकको निर्णयहरू देहाय बमोजिम रहेको छ—
(१) सरकारलाई दिएको समर्थन फिर्ता सम्बन्धमा
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहालको नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ ।
०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचन मार्फत मतदाताले दिएको म्याण्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर त्यो म्याण्डेडलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन । संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिक पंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ । कार्यसम्पादन समितिको यो बैठक यो घटनालाई गम्भीर ढंगले लिंदै संसदमा प्रतिपक्षको भुमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गरेकाे छ ।
(२) सदस्य, समर्थक र शुभचिन्तकमा अपील
कार्यसम्पादन समितिको यो बैठक स्वदेश र विदेशमा रहेका नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर नेपाल देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै संगठनमा समर्पित ढंगले लाग्न अपिल गरेकाे छ ।
(३) संवत् २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय बैठकले गरेकाे छ ।
(४) उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेकाे छ ।
(५) उक्त उप–निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेकाे छ ।






प्रतिकृया