• 12:16 am

बैंकहरु मिटरब्याजी जस्तै भए : अध्यक्ष ओली

प्रकाशित मिति

February 2, 2024

माघ १९, २०८० काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाउनुभएको छ । शुक्रबार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताउनुभयो । उहाँले बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै त्यस्तो गरे मिटरब्याजीसरह हुने बताउनुभयो । उहाँले बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गर्नुभयो । उहाँले बैंकको ऋण नतिर्ने आन्दोलन बैंकहरुले नै बनाएको आधारमा भएको दाबी गर्नुभयो । उहाँले बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको दाबी गर्नुभयो । उहाँले बैंकको ऋण सदुपयोग भए÷नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम नभएको अध्यक्ष ओलीको भनाई छ । बैंकहरुले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउनरबढाउन सकिने उल्लेख गरेको भएपनि बैंकहरुले एकतर्फी रुपमा बढाउने काम मात्रै गरेको उल्लेख गर्नुभयो । उहाँले बैंकबाट कर्जा लिँदा दुई पक्षिय सहमति बिना ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएको बताउनुभयो । बैंकहरु नाफाखोर, निर्मम साहुजी नभएको भन्दै बैंक विकासका सहयोगी भएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा बीमा कर कापले गर्ने गरेको बताउनुभयो । उहाँले करले गरेको बीमाको तीन किस्तासम्म तिर्ने त्यसपछि बीमा अलपत्र पर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले अलपत्र परेको बीमा कम्पनीको नाफामा जाने तर बीमा गर्नेले उसको लागत कटाएर पैसा फिर्ता गर्न नजानेको बताउनुभयो । उहाँले बीमा गरेर प्रिमियम तिर्न नसक्दा बीमकको पैसा ल्याप्स हुन नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले देश अहिले राजनीतिक,सामाजिक र आर्थिक हिसावले अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभयो । उहाँले देशमा डरलाग्दो संस्कृति अभाव खड्किरहेको बताउनुभयो ।

प्रतिकृया