• ५ साउन २०८३, मंगलबार
  • ९:३४ बिहान

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल एयरलाइन्सले गर्‍यो १० महत्वपूर्ण काम

प्रकाशित मिति

२०८० माघ १६ गते, मंगलवार ०१:१५

माघ १६, २०८० काठमाडौँ: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सन् २०२३ मा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न १० वटा प्रशंसनीय काम गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले यात्रुमैत्री सेवाका अलावा सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिएको हो ।

जसअनुसार एयरलाइन्सले क्यान्सर बिरामी तथा उनीहरूको कुरुवा ७७० जनालाई पूर्ण तथा आंशिक रूपमा हवाई टिकटमा छुट दिएको छ । यसै गरी ज्येष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हवाई टिकट दरमा ५० प्रतिशत सहुलियत प्रदान गर्दै आएको प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।

Kamana Sewa

उनका अनुसार गत असोज २१ गते हुम्लामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते नौ जनाको उद्धारका लागि पनि नेपाल वायुसेवा निगमको जहाज हुम्ला पठाइएको थियो । यस्तै प्रधानमन्त्री प्रचण्डको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष पहलकदमीमा गत असोज २५ गते इजरायल तथा हमासबीच भएको द्वन्द्वका कारण समस्यामा परेका २५४ जना नेपाली नागरिकहरूको उद्धारमा पनि नेपाल एयरलाइन्सकै जहाज प्रयोग गरिएको थियो ।

Classic Tech Desktop

यसै गरी कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पका घाइतेहरूलाई लक्षित गरेर एयरलाइन्सले ट्विनअटर विमानमार्फत नेपालगन्ज तथा काठमाडौँसम्मका लागि निःशुल्क उद्धार उडान गरेको थियो । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त राहत सामग्री समेत एयरलाइन्सको जहाजमार्फत रुकुमसम्म निःशुल्क ढुवानी गरिएको प्रवक्ता पौडेलको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै दुर्घटनामा परी जुम्ला अस्पतालमा भेन्टिलेटरमा रहेका दीप बहादुर रावतको उद्धारका लागि समेत आकस्मिक उडान गरिएको निगमले जनाएको छ ।

यसबाहेक मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेर अलपत्र परेका चिकित्सकहरूलाई लिन ६ सेप्टेम्बर, २०२३ मा नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको थियो ।

यस्तै राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने महाशिवरात्रीको अवसरमा एयरलाइन्सले पशुपति परिसरमा श्रद्धालु भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण गरेको थियो । यसै गरी बाढी पीडितका लागि १३–१९ अगस्ट, २०२३ सम्म नेपालगन्ज–धनगढी–डोटी–धनगढी–नेपालगन्ज उद्धार उडान सञ्चालन गरिएको थियो ।

यस्तै विभागीय मन्त्री किरातीको अगुवाइमा आयोजित पशुपति, स्वयम्भूजस्ता विश्व सम्पदा सूचीमा रहेका स्थानहरूको तीन महिने बृहत् सरसफाइ अभियानमा एयरलाइन्स १० मार्च देखि ८ जुलाईसम्म निरन्तर सरिक भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया