• 4:39 am

अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको सुपर सिक्समा

प्रकाशित मिति

२०८० माघ १२ गते, शुक्रबार ०८:३०

माघ १२, २०८० काठमाडौँ: अफगानिस्तानलाई हराउँदै नेपाल अन्डर १९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ । कप्तान देव खनाल ब्याटिङ र आकास चन्द बलिङमा नायक बनेपछि नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको हो ।

जितसँगै समूह डीबाट तेस्रो स्थानमा रहँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ । सुपर सिक्समा नेपालले समूह एका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

१४६ रनको लक्ष्य नेपालले ३३ बल अगाडी ९ विकेट गुमाउँदै पुरा गरेको हो । अन्तिम समयमा नेपालले क्रमश विकेट गुमाएपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

त्यसअघ कप्तान खनाल ५८ रनमा आउट भए पनि जितको आधार खडा गरेका थिए । ८९ बल खेलेका उनले ७ चौका प्रहार गरे । सुरुवातमै लगालग तीन विकेट गुमाएर संकटमा परेको नेपाली इनिङ्स सम्हाल्दै खनालले जितको आशा जगाएका थिए । उनलाई दिपक बोहराले राम्रो साथ दिए । बोहरा २७ रनमा आउट भए ।

त्यसअघि आकास त्रिपाठी १६, अर्जुन कुमाल १०, दिपक डुम्रे ५, दिपेश कँडेल ४, विपिन रावल २ र गुल्सन झा १ रनमा पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपालले कसिलो बलिङ गरेपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा आलआउट भएको थियो ।

अफगान टोलीलाई सस्तैमा अलआउट गर्न आकास चन्दले पाँच विकेट लिए । दिपेश कँडेलले २ तथा तिलक भण्डारी, सुवास भण्डारी र गुलसन झाले १ विकेट लिए ।

प्रतिकृया