• 8:06 am

ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेडकर्नर नोटिस’, विदेश भागेको आशंका

प्रकाशित मिति

२०८० माघ १२ गते, शुक्रबार ०५:२१

माघ १२, २०८० काठमाडौँ: सहकारीका बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयर अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी भएको छ ।

नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरूको अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको हो ।

बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । उनी भन्छन्, ‘‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुपुर्दगी गर्छ । उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवश्यक छ ।’’

सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर, अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनी इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए ।

उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरूविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।

तर उनीहरू भने वैशाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

प्रतिकृया