• 11:09 am

स्वर्गद्धारी गुठी पीडितको समस्या समाधान छिट्टै हुन्छ : मन्त्री चौधरी

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार ०१:५३

पुस २३, २०८० काठमाडौँ: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले स्वर्गद्धारी गुठी पीडितहरुको समस्या छिट्टै समाधान हुने बताएकी छिन् । सोमबार आफ्नो समस्या लिएर मन्त्रालय पुगेका पीडितहरुसँग कुराकानी गर्दै मन्त्री चौधरीले पीडितहरुको समस्या समाधान छिट्टै गर्ने बताएकी हुन् ।

‘मैले देशैभरका भूमीहिन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको पक्षमा निरन्तर काम गरिरहेको छु । तपाईँहरुको समस्याका बारेमा म पहिल्यैदेखि अवगत नै छु’, मन्त्री चौधरीले आश्वासन दिँदै भनिन्, ‘तपाईँहरु ढुक्क हुनुस् जतिसक्दो छिटो तपाईँहरुको समस्या समाधान गर्नका निम्ती म लागिरहेको छु ।’

मन्त्रीले दिएको आश्वासन समयमै पूरा नगरे पीडितहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । ‘हाम्रो मागहरु तत्काल पूरा गरेर हाम्रो समस्या समाधान नगरे आगामी माघ १० गतेदेखि हामी चरणबद्ध आन्दोलन गर्नेछौँ’, पीडितको प्रतिनिधित्व गर्दै प्रविन चौधरीले भने ।

यस्तो छ पीडितहरुको माग :

१. पीडितहरुले पुस्तौंदेखि गुठी जमिन जोत्दै आएका दर्तावाल वा बेदतांवाल (कुत बुझाएको तर मोही नजनिएको) मोहीका नाममा कम्तिमा ७५ प्रतिशत जमिन रैकर सरह दर्ता गरि जग्गाको जग्गाधनी प्रमाण पुर्जा दिइनुपर्दछ । र बाँकी २५ प्रतिशत सरकारी दररेटमा किस्ताबन्दीमा किसानलाई नै किन्न दिइनु पर्ने माग राखेका छन् ।
२. गुठी जमिन कमाई आएका किसानले बुझाउनुपर्ने जिन्सी या अन्य भुक्तानी २०७२ सालभन्दा पहिलेको पूर्णत मिनाहा हुनुपर्दछ । र त्यसपछिको बाँकी कुतको हालसम्मको कुल लगत निकाली ८० प्रतिशत छुट दिने व्यवस्था गरिनुपर्दछ ।
३. विभिन्न बहानामा मोहरी निष्कासन गरिएको तर कुतवाली बुझाई आएका किसानलाई मोही पुर्नवहाली गरी मोही सरह जमिन दिइनुपर्दछ ।
४. गुठीका नाममा देखिएका किसानले जोति आएका तर मोही नलागेका जमिन किसानकै नाममा दर्ता गरिनुपर्दछ । १ नम्बर लगतमा समावेस भएका सम्पूर्ण किसानलाई मोही सरहको मान्यता दिइनुपर्छ ।
५. मोहीका नाममा जग्गा दर्ता गर्दा प्राप्त हुने राजस्वको स्थायी कोष बनाएर सोको व्याज आम्दानीले आश्रमको व्यवस्थापन गर्नुपर्दछ ।

प्रतिकृया