• 12:56 pm

सुकुम्वासी समस्या समाधानका लागि नयाँ ऐन ल्याउँदैछु: प्रधानमन्त्री

प्रकाशित मिति

२०८० पुष ७ गते, शनिबार ०५:४५

पुस ७, २०८० काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ । शनिवार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गर्नुभयो । उहाँले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताउनु भयो । उहाँले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो प्रधानमन्त्रीत्व कालमा लोडसेडिङ अन्त्य । मैले जनार्दनलाई उर्जामन्त्री बनाएपछि, कुलमानलाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो । उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो । तर हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ । अरुले नगरेको काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन । अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत नपुगेको रहनेछैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।’

प्रधानमन्त्री दाहालले भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताउनु भयो । उहाँले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र रकारमा पनि छलफल भइसकेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपूर्जा वितरणको एउटा नयाँ अभियान शुरु हुने उद्घोष गर्नुभयो । ५० औं वर्षदेखिका अव्यवस्थित बसोवासीका, स्ववासीका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था भइरहेको बताउनु भयो । उहाँले ऐनमा भएका केही त्रुटीका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको बताउनु भयो ।

प्रतिकृया