न्युक्यासललाई हराउँदै चेल्सी सेमिफाइनलमा
प्रकाशित मिति
२०८० पुष ४ गते, बुधबार १०:५४

पुस ४, २०८० काठमाडौँ: क्वार्टरफाइनलमा न्युक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै चेल्सी काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा चेल्सीका कोल पाल्मेर, कोनोर गालाघेर, क्रिस्टोफेर एन्कुकु र माइखाइलो मुन्द्रयकले गोल गरे । न्युक्यासलका कालम विल्सन र ब्रुनो गुइमाराइसले गोल गरे पनि किएरन ट्रिपियर र माट रिचीको प्रहार विफल भएको थियो ।
त्यसअघि खेलको १६औं मिनेटमा कालम विल्सनले गरेको गोलबाट न्युक्यासलले अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा माइखाइलो मुन्द्रयकले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । यसपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट भएको थियो ।
बुधबार नै भएका अन्य दुई क्वार्टरफाइनलमा मिडल्सबर्गले पोर्ट वेललाई ३–० ले र फुलहमले एभर्टनलाई पेनाल्टी सुटआउटमा ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । प्रतियोगितामा भोलि हुने लिभरपुल र वेस्ट ह्यामबीचको खेलपछि सेमिफाइनलको ‘ड्र’ हुनेछ ।
प्रतिकृया