शेखरले भने– गगन र आफूबीच कुनै मतान्तर छैन
प्रकाशित मिति
२०८० मंसिर २७ गते, बुधबार ०४:१२
मंसिर २७, २०८० काठमाडौँ: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर नरहेको बताएका छन् । आफू पक्षीय भेला राखेका डा। कोइरालाले महामन्त्री गगन थापा र आफूबीच मतभेद रहेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाव दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार बैठकको सुरुवातमै बोलेका डा. कोइरालाले गगन र आफूबीच मतभेद देखाउने प्रयासका पछि नलाग्न आग्रह समेत गरेका छन् । “शेखर दाइले हामीबीच कुनै मतान्तर छैन भन्नुभयो,” ती नेताले भने, “हामीबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभएको छ ।”
कोसी प्रदेशमा शेखर निकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेसमा सिंगो पार्टी एकातिर शेखर कोइराला अर्कोतिरको अवस्था बनेको थियो । नेपाली कांग्रेसका आठ सांसदको समूहलाई एमालेले समर्थन दिएपछि कार्कीको नेतृत्वमा सरकार बनेको हो । त्यसलाई लिएर महामन्त्रीद्वयले शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा भएको थियो ।
सार्वजनिक रूपमा पनि महामन्त्रीद्वयले अनुशासनको प्रश्न उठाएका थिए । त्यसयता शेखर र गगनबीच भेटवार्ता र छलफल समेत भएको थिएन । सुरुमा शेखर कोइरालाले मंगलबारका लागि बैठक डाक्दा गगनलाई खबर नै नगरिएको गगन निकटहरूले बताएका थिए । तर, शेखरले गगनको समय लिएर नै एक दिनपछि बैठक डाकेका हुन् ।







प्रतिकृया