• १६ असोज २०८३, शुक्रबार
  • ११ः३५ बिहान

पक्राउ परेका पूर्वमन्त्री किराँतीसहित पहिचान पक्षधरको रिहाइको माग

प्रकाशित मिति

२०८० मंसिर २७ गते, बुधबार ०४:०२

मंसिर २७, २०८० काठमाडौँ: खोटाङ, भोजपुर र झापाबाट पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित पहिचान पक्षधर नेता कार्यकर्ताको रिहाइ गर्न राज्य पक्षसँग माग गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ लगायतका पहिचान पक्षधर संघ संस्थाहरूले आज (बुधबार) संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रदेश नं. १ को शान्तिपूर्ण आन्दोलनमा गिरफ्तार गरिएका अभियन्ताहरूलाई तत्काल विना सर्त रिहा गर्न माग गरेका हुन् ।

National Life

‘कोशी प्रदेश नामाङ्कन खारेजीको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका पहिचान पक्षधर अभियन्ताहरूलाई प्रदेश नं. १ को खोटाङ, भोजपुर र झापा जिल्लाबाट कसैलाई घरमा सुतिरहेको अवस्थामा छापामार शैलीमा घर फोडेर त कसैलाई बाटोमा हिँडिरहेको अवस्थामा समेत विना पक्राउ पुर्जी प्रहरीले अनावश्यक बल प्रयोग गरी गिरफ्तारी गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा मङ्सिर २६ गतेदेखि रातीसम्ममा खोटाङबाट पूर्वमन्त्री गोपाल किराँती सहित राजेश राई, गन्धमान राई, विजय राई, उदिम राई, झापाबाट पाण्डव चौधरी, निशान राई, विजय थापा, शंखर खत्री र भोजपुरबाट विदुर राई, मिना राई, दिनेश राई, पनन राईलाई पक्राउ गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पहिचान र अधिकारका लागि सङ्घर्षरत उन्नत र समृद्ध व्यवस्थाका पक्षधर जनताका छोराछोरीलाई एकातर्फ यसरी पक्राउ गर्नु र अर्कातर्फ संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयतालाई उल्टाउन उद्यत प्रतिगामी, संविधान विरोधी शक्तिलाई सडकमा नाङ्गो प्रहसन गर्न दिने राज्य सरकारको यो रवैया उत्पीडित जनतामाथि गरिएको विभेदकारी दमन र लोकतन्त्रमाथि नै ठाडो प्रहार हो भन्ने हाम्रो ठहर छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

शान्तिपूर्ण ढंगले आफ्ना मागहरू राख्न पाउने लोकतान्त्रिक राज्य व्यवस्थामा जनताको नैसर्गिक अधिकार भएको भन्दै विज्ञप्तिमा पहिचान पक्षधरको आन्दोलन कुनै दल, धर्म र जाति, समुदाय लक्षित नभएको र भविष्यसम्म पनि नहुने स्पष्ट पारिएको छ । तर शान्तिपूर्ण आन्दोलनमा राज्य या गैरराज्य पक्षबाट अशान्ति मच्चाउन चाहेमा भने हातमा दही जमाएर बस्न नसक्ने समेत स्पष्ट पारिएको थियाे ।

गैरकानूनी ढंगबाट गिरफ्तार गरिएका सबै पहिचान पक्षधर अभियन्ताहरूलाई विना सर्त अविलम्ब रिहाइ गर्न र समाजमा जातीय द्वन्द्व भड्किन सक्ने खतराप्रति समेत सचेत रहन राज्य पक्षलाई माग गरिएको छ । विज्ञप्तिमा अन्यथा, यसका विरुद्ध देशव्यापी रूपले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने समेत चेतावनी समेत दिइएको छ ।

विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेवा देय दबूका सचिव मचाराजा महर्जन, किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्‍तेन, तमू ह्यूल छोंज धिंका उपाध्यक्ष आरबी तमू, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, कुमाल समाज नेपालका उपाध्यक्ष श्रुती कुमाल र भुजेल सेवा समाजका कार्यवाहक अध्यक्ष हिलारीबन्धु भुजेल रहेका छन् ।

प्रतिकृया