• 4:36 am

नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रकाशित मिति

२०८० मंसिर १५ गते, शुक्रबार ०८:३३

मंसिर १५, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल-दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।

दुबइ उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।

युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए । दुबइ उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको उक्त दूतावासले जनाएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।

प्रतिकृया