• २४ भदौ २०८३, बुधबार
  • ५ः५५ बेलुका

सांसदको चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन् : सांसद थापा

प्रकाशित मिति

२०८० कार्तिक २८ गते, मंगलवार ०३:५८

कात्तिक २८, २०८० काठमाडौँ: नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन् । उनले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भएपनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

National Life

भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उनी विजयी भएका हुन् । वडा, प्रदेश र सङ्घका जनप्रतिनिधि तथा कार्यपालिकाको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भएपनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको उनले बताए ।


जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उहाँले अनुभव सुनाए । कांग्रेस भक्तपुरका सभापति समेत रहेका सांसद थापाले भने, “मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो ।”

Classic Tech Mobile
Classic Tech Desktop

विसं २०२५ भदौ २३ गते भक्तपुरमा जन्मिएका उनले आफूले सानो उमेरदेखि अहिलेसम्म राजनीतिक नेतृत्वबाट एउटै कुरा सुनिरहेको उल्लेख गर्दै भने, “सानो छँदा पनि मत माग्न आउने नेताहरुले बाटो, खानेपानी, बिजुली, पुल, पुलेसालगायत कुरा बनाइदिने आश्वासन दिने गर्थे, अहिले पनि जनताको त्यही अपेक्षा छ भने के चाही परिवर्तन गर्यौं त हामीले ?” जनताले पनि चुनावमा सांसदसँग बाटो माग्ने होइन नि त । चुनाव जित्नलाई बाटो नै बनाउनुपर्नै रहेछ, अनि कसरी कानुन निर्माणमा केन्द्रित हुने ।”


हामीकहाँ पहिला घर बनाउने अनि बाटो, बिजुली, पानी र अन्य सुविधा पुर्याउनुपर्ने चलन रहेको बताउँदै नेता थापाले त्यस्ता आधारभूत सुविधा भएको स्थानमा पो घर बनाउनुपर्ने होइन भनी प्रश्न गरे । सानै उमेरदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएको उनले भने, “अनि हामीजस्ता राजनीति गर्नेले त्यस्ता स्थानमा बाटो खोल्दिन्छु बिजुली ल्याई दिन्छु भन्नुपर्ने रहेछ ।” यो कुराको चिरफार गर्न आवश्यक रहेकामा उनले जोड दिए ।


सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद थापाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे । “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, उनले भने । थापा मीनभवन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका प्रत्यासी हुनुका साथै नेविसङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् ।


अहिलेको राजनीतिप्रतिको वितृष्णालाई चिर्न नसके सम्पूर्ण प्रणाली नै असफल हुने चिन्ता व्यक्त गर्दै नेता थापाले भने, “हामीजस्ता सांसदहरु सदनमा ठूला ठूला र आदर्शका कुरा गर्छौं, जनतालाई त्यसको के अर्थ त्यसैले यथार्थ र व्यवहारिक कुरा मात्र बोल्नुपर्छ ।”


सदनमा देशभित्र अवसर नभएर युवा पलायन भए भनेर आदर्शका कुरा छाट्ने नेताका छोराछोरी विदेशमा रहेका उनले जानकारी गराए । उनले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत गर्न र रक्षाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए ।


सदनलाई प्रभावकारी बनाउन हामी सबै सच्चिन पर्ने जोड दिँदै उनले भने, “हामी संसद हौँ कि अरु केही वा वडाध्यक्ष हौ छुट्याउन पर्यो ।” उनले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताए । सरकारले पर्याप्त ‘विजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उनको भनाइ थियो ।


मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको र यसलाई नियन्त्रण गर्न राजनीतिकर्मीको के भूमिका रहन्छ भन्ने प्रश्नमा सांसद थापाले भने, “सामान्य राजनीति गर्ने व्यक्ति होस् वा सरकारी कर्मचारी महँगा गाडी फेरि फेरि चढछन्, काठमाडौँजस्तो महँगो स्थानमा घरजग्गा जोडेका छन्, बालबच्चालाई महँगा विद्यालयमा पढाएका छन्, महँगो जीवनशैलीमा रहेका छन्, यति देखेपछि भ्रष्टाचारी खोज्न कही जानुपर्छ ।”


कांग्रेसको १३ औँ र १४औँ महाधिवेशनबाट भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित उनले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिए । -भीष्मराज ओझा

प्रतिकृया