• ९ असोज २०८३, शुक्रबार
  • ४ः०४ बेलुका

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति

२०८० कार्तिक १५ गते, बुधबार ०४:४२

कात्तिक १५, २०८० काठमाडाैं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अर्थतन्त्र संकटमुक्त भइसके पनि दवावमुक्त हुन नसकेको उल्लेख गर्दै अर्थतन्त्रको दवाव हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताएका छन्।

National Life

बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रको दवाव हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन्।


सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं। तर, अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले थपे, ‘‘सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ। तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्छौं। मैले नै त्यसको अध्यक्षता गर्छु। उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउँछौं।’


प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताए।


‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्तिहरू नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन्। जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ।’ उनले भने।

प्रतिकृया