५५ बर्षपछि यो साल पचली भैरवमा य:सिं ठडयाइयो
प्रकाशित मिति
२०८० कार्तिक २ गते, बिहीबार ०१:४५
कात्तिक २, २०८० काठमाडौँ: यस बर्ष पचली भैरव जात्राका लागि य:सिं ठड्याइएको छ । जात्रामा यो क्रियाकलाप करिब ५५ बर्षदेखि रोकिएको थियो । यसबर्ष रञ्जितकार समाजका युवाहरुको संस्कृति बचाउने जागरुकतासँगै बुधबार विहान य:सिं ठड्याइएको हो । नेपाल मण्डलमा य:सिं (लिङ्गो) उठाएर जात्राका क्रियाकलाप सुरु गर्ने, ढालेर अन्त्य गर्ने चलन छ ।
य:सिं ठड्याएसँगै पचली भैरव (तेप आजु) जात्रा विधिवत सुरु भएको मानिन्छ । पचली भैरव काठमाडौँ महानगरपालिकाको वडा नं. १२ छ । यस्तै जात्रा सञ्चालन गर्ने गुठियारहरु वडा नं। २० मा छन् । यस नाताले महानगरपालिकाको केन्द्र (सम्पदा तथा पर्यटन विभाग) सँगै सम्बन्धित वडाहरुले जात्रा सञ्चालन व्यवस्थापनमा सहयोग गर्ने गरेका छन् ।
‘जात्राको निरन्तरताका लागि यसका हरेक पक्ष जोगाउनु हाम्रो दायित्व हो । यसमा व्यक्ति, समुदाय र सांस्कृतिक क्रियाकलाप पर्छन् ।’ जात्रा सञ्चालनमा महानगरपालिकाको धारणा राख्दै प्रवक्ता नविन मानन्धर भन्नुहुन्छ, ‘परम्परा संरक्षण गरेर नियमित सञ्चालन गर्न, पर्यटन व्यवस्थापनसँग जोडेर राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा प्रवर्धनमा हामीले ध्यान दिएका छौँ ।’
पर्वमा रहर र आदरका साथ पूजाआजा गर्ने परम्परालाई निरन्तरता दिनका लागि वडा १२ ले विशेष प्रयत्न गरेको छ । जात्रा व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले भन्नुभयो, ‘जात्रामा १९ बर्षसम्म रुद्रविनायकको सहभागिता थिएन । २०७१ सालमा समिति गठन गरेर पुन: आगमन गराइएको हो । यस बर्षदेखि य: सिं ठड्याउने चलनलाई पुन:स्थापना गरेका छौँ । जात्राका अङ्ग छुटाउँदै होइन, जोड्दै लैजानुपर्छ ।’
पचली भैरव क्षेत्र विकास समितिका महासचिव सन्तकुमार महर्जनकाअनुसार यो पर्व किराँतकाल अघिदेखि नै राज्य र शक्तिसँग सम्बन्धित जात्रा हो । ‘राजा गुणकामदेवले दक्षिण कोलियोग्रामका क्षेत्रपालका रुपमा पचली भैरवको स्थापना गरेका हुन् । यो जात्रा राजासँग खड्ग साट्ने परम्परासँग जोडिएको छ ।
पचली भैरव शक्ति पीठ हो । राजाहरुलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । यस ठाउँमा आएर नेपाली सेनाले पनि शक्ति पूजा गर्ने गरेको छ । काठमाडौँमा मनाइने २६ वटा जात्रा र पर्वमा गुर्जुको पल्टन लैजाने गरिएको छ । यसमध्ये पचली भैरवको जात्रा पनि एक हो ।








प्रतिकृया