त्रिकोणात्मक टी-२० सिरिजमा युएईसँग खेल्दै नेपाल
प्रकाशित मिति
२०८० कार्तिक १ गते, बुधबार १०:४३
कात्तिक १, २०८०, काठमाडौं: काठमाडौं- टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रूपमा हेरिएको त्रिकोणात्मक टी-२० सिरिज बुधबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज दिउँसो १ बजे युएईसँग प्रतिस्पर्धा गर्दै छ। मूलपानी क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम विश्वकप छनोट अघि आफूलाई आत्मविश्वासी बनाउने प्रयासमा मैदानमा उत्रिनेछन्।
मूलपानी क्रिकेट मैदानमा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो। नेपालले पछिल्लो समय टी-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आएकाले सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
नेपालले एसियाकप र १९ औं एसियाली खेलकुदमा टेस्ट राष्ट्रसँगको एक्सपोजले नेपाल उत्साही छ। अझ भारतसँगको उम्दा प्रदर्शनले नेपाल टी-२० विश्वकप छनोटमा बलियो रहने आकलन गरिएको छ ।
नेपालका मुख्य बलिङ हतियारका रूपमा रहेका सन्दीप लामिछाने टोलीमा नहुँदा त्यसको फाइदा उठाउने सोंचमा युएई रहने छ। यद्यपि ललित राजवंशीको पुनरागमनले नेपाल स्पिन अट्याकमा पनि बलियो हुन सक्ने आकलन गरिएको छ ।
नेपाल र युएईबीच पछिल्लो पटक गतवर्ष फेब्रुअरीमा आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। नेपाल विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा युएई तुलनात्मक रूपमा सफल रहेको छ। नेपाल र युएईबीच पाँच खेल हुँदा नेपाल २ खेलमा जित हासिल गर्दा ३ खेलमा युएई विजयी भएको छ ।







प्रतिकृया