एनआरएनको अध्यक्षमा ४ जनाको उमेदवारी
प्रकाशित मिति
२०८० आश्विन ३० गते, मंगलवार १०:३०
असोज ३०, २०८०, काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा ४ जनाको उमेदवारी रहेको छ । आगामी दुई वर्षको नेतृत्वका लागि प्रतिस्पर्धामा आएका ४ जनामध्ये २ जना हालका अध्यक्ष हुन् भने २ उपाध्यक्ष हुन् ।
एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार एनआरएनको अध्यक्ष पदमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्माको उमेदवारी रहेको छ । केसी र थापा हालका अध्यक्ष हुन् भने, श्रेष्ठ र शर्मा उपाध्यक्ष हुन् ।
मंगलबार (आज)देखि एनआरएनको ११ औं महाधिवेसन हुँदैछ । शुक्रबारसम्म चल्ने महाधिवेसन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार र बुधबार विश्वज्ञान सम्मेलनका रुपमा चल्ने महाधिवेसनमा आर्थिक क्षेत्रका विभिन्न विषयमा छलफल हुनेछ ।
बिहीबार काठमाडौंमा उपस्थित मतदाताले मतदान गर्ने छन् भने विश्वभरका मददाताले अनलाइनबाटै फेसियल भेरिफिकेसनको आधारमा मतदान गर्न पाउने छन् ।
कसको प्रभाव बलियो ?
रुसका डा. बद्री केसी एनआरएनएको १० औं महाधिवेशनका ३ जना अध्यक्षमध्येका हुन् । एमालेनिकट उम्मेदवार मानिने केसीले नेपालका बैंक तथा वित्तीय संस्था, जलविद्युतलगायतका व्यवसायमा लगानी गरेका छन् ।
केसीसँग बेलायतबाट कांग्रेसनिकट मानिने हेमराज शर्मा र अमेरिकाबाट गौरीराज जोशी उपाध्यक्षका उमेदवार रहेका छन् । यस्तै अध्यक्ष पदका अर्का उमेदवार हालका उपाध्यक्ष जापानका महेशकुमार श्रेष्ठ कांग्रेसनिकट मानिन्छन् । नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईटी सेक्टर, पर्यटन, जलविद्युत र वित्तीय क्षेत्रमा उनको लगानी छ ।
कतारबाट पहिलो पटक मध्यपूर्वलाई नेतृत्वमा पुर्याउने उद्देश्यले लागेका राजेन्द्रकुमार शर्मा (आरके शर्मा) हालका उपाध्यक्ष हुन् । माओवादीनिकट मानिने शर्माले एनआरएनको एकतालाई आफ्नो प्राथमिकता भनेका छन् ।
उपाध्यक्ष शर्मा ६ उपाध्यक्ष, एक युवा उपाध्यक्ष र अन्य पदाधिकारीको टिमसहित प्रतिस्पर्धामा छन् । सन् २००५ देखि एनआरएनएमा सक्रिय शर्माले २४ महिनाका लागि २४ बाचा भन्दै एनआरएनमा बिशेष सुधार र देशमा लगानीको वातावरण सुदृढ पार्ने प्रतिवद्धता जनाएका छन् ।
अमेरिकाबाट अध्यक्ष पदमा उमेदवार रहेकी हालकी अध्यक्ष रबिना थापालाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक भएर समर्थन गरेका छन् ।








प्रतिकृया