नेपाली भूमिमा छिमेकी देशका प्रधानमन्त्री आएकोबारे सरकारले जानकारी गराउनुपर्दैन : रवि लामिछाने
प्रकाशित मिति
२०८० आश्विन २५ गते, बिहीबार ०४:१५
असोज २५, २०८० काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली भूमि गुञ्जीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएकोबारे सरकारले जानकारी गराउनु पर्दैन भनेर प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सभापति लामिछानेले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री आउँदा स्वागत गर्नुपर्दैन भन्दै सोधेका हुन्।
‘हामीलाई पहिला समाचारबाट पछि आधिकारिक निकायबाट थाहा भयो। छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनु भएको रहेछ। छिमेकी राष्ट्रकोे प्रधानमन्त्री हाम्रो भूभागमा आउँदा सरकारले न स्वागत गरेको छ। न भारतले जानकारी गराएको छ,’ उनले भने।
कुटी, नाभी र गुञ्जी गाउँ नेपालको र पछिल्लोपटक जारी गरेको ‘चुच्चे नक्सा’मा समेटिएका क्षेत्र भन्दै ती भूभागमा छिमेकी देशको प्रधानमन्त्री आएको विषय सरकारले जानकारी गराउनुपर्ने बताए।
‘अहिले सभामुखको आसनअगाडिको चुच्चे नक्साभित्र नै कुटी, नाभी र गुञ्जी पर्छ। चुच्चे नक्सा हामीले नै पास गरेको हो। त्यहाँ छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले भ्रमण गरेको कुरा आयो। यसको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्यौं। हामी त्यहाँ जान पाउँदैनौं हामीले थाहा पायौं भनेर जानकारी गराउनुभयो,’ उनले सदनसमक्ष भने।








प्रतिकृया