
‘प्रधानमन्त्रीको भ्रमणबाट चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको छ’
प्रकाशित मिति
२०८० आश्विन १४ गते, आईतवार ०५:३३

असोज १४, २०८० काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नियमित पत्रकार भेटघाटमा पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री दाहालको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ, सहकार्य र सम्बन्धमा नयाँ ढोका खुलेकाले पूर्णरुपमा सफल भएको टिप्पणी गर्नुभयो ।
प्रवक्ता सापकोटाले भन्नुभयो, “प्रधानमन्त्री दाहालको चीन भ्रमणले दुई देशका सम्बन्धमा नयाँ आयाम थपिएको छ । कोभिड–१९ सङ्क्रमणपछि हुन नसकेको उच्चस्तरीय भ्रमणको शृङ्खला जोडेको मात्र होइन, उठिरहेका विभिन्न प्रश्न, संशय निवारण भएको छ ।” प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएका सहमति र द्विपक्षीय सम्बन्ध विस्तारका साथै एकअर्काबीचको संवेदनशीलता र बाध्यता बुझ्ने पाटोबाटसमेत महत्वपूर्ण रहेको उहाँको भनाइ छ । नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीचको सहकार्यसम्बन्धी समझदारी आफैँमा महत्वपूर्ण रहेको प्रवक्ता सापकोटाले टिप्पणी गर्नुभयो ।
भ्रमणका अवसरमा भएका सहमति र समझदारीले दुई देशबीचको आर्थिक विकासको आधार तयार भएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले दुई आयोगबीच भएका सहमति विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको चिलिमे–केरुङ दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहकार्य गर्ने सहमति पनि उत्तिकै महत्वपूर्ण रहेको प्रवक्ता सापकोटाले उल्लेख गर्नुभयो ।
कृषि, पशुपालन तथा औद्योगिक विकास तथा डिजिटल अर्थतन्त्रलगायतका विषयमा प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा उल्लेखनीय सहमति भएको भन्दै उहाँले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीस्तरमा भएका छलफल आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल र चीनबीच रहँदै आएको राजनीतिक, सांस्कृतिक एवम् जनस्तरको मैत्री सम्बन्धलाई प्रधानमन्त्री प्रचण्डको भ्रमणले नयाँ मार्ग प्रशस्त गरेको स्पष्ट पार्दै प्रवक्ता सापकोटाले चीनले विज्ञान तथा प्रविधिका क्षेत्रमा गरेको विकास नेपालका लागिसमेत महत्वपूर्ण रहेको र सहयोग गर्ने प्रतिबद्धता जनाएको तथा प्रविधि हस्तान्तरण गर्ने सहमति भएको उल्लेख गर्नुभयो ।
प्रतिकृया