पुष्पा र अञ्जलीलाई कोशी टप्पु स्थानान्तरण गरिँदै
प्रकाशित मिति
२०८० आश्विन ९ गते, मंगलवार ०३:३७

असाेज ९, २०८०, काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जले आज मङ्गलबार दुई पोथी गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु पठाएको छ । आमाबाट छुटेका दुई गैँडा पुष्पा र अञ्जलीलाई उद्धार गरेर सौराहामा हुर्काइएको थियो । आज ट्रकमार्फत कोशी टप्पु वन्यजन्तु आरक्ष पठाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गैँडाको संख्या विस्तारको लागि स्थानान्तरण गरिएको बताए । उनका अनुसार निकुञ्जका प्रतिनिधि, चिकित्सक टोली, प्राविधिक जनशक्तिलगायतको समूहले ट्रकमा हालेर गैँडा स्थानान्तरणको लागि पठाइएको हो ।
सूचना अधिकारी तिवारीले पुष्पा र अञ्जलीलाई लगेर तत्काल इन्क्लोजर (खोर) राखिने बताए । उनले भने, ‘केही दिन इन्क्लोजरमा राखेर जंगलमा छोडिने छ ।’
अध्ययनका क्रममा क्रममा कोशी टप्पुमा गैँडा स्थानान्तरण गर्दा वंश विस्तार हुनसक्ने देखिएपछि स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । उनले भने, ‘मन्त्रालयको निर्देशनबाट नै पुष्पा र अञ्जलीलाई सार्न लागिएको हो, अरू गैँडा सार्दा पुष्पा र अञ्जलीलाई नै सार्दा ठीक हुने देखिएकोले यी दुई गैँडा स्थानान्तरणमा परेका हुन् ।’
कोशी टप्पुमा यसअघि चितवन निकुञ्जबाट गैँडा स्थानान्तरण गरिएको छैन । पहिलोपटक पुष्पा र अञ्जली दुई पोथी गैँडालाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो ।
नवलपुरको दिव्यपुरीबाट २०७७ चैतमा एक महिनाको अञ्जलीलाई र नवलपुरको तमासपुरबाट २०७६ पुसमा दुई महिनाको पुष्पालाई उद्धार गरिएको थियो । पुष्पा तीन वर्ष आठ महिना र अञ्जली दुई वर्ष पाँच महिना भएका छन् ।
प्रतिकृया