• २१ असोज २०८३, बुधबार
  • ८ः५१ बिहान

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

प्रकाशित मिति

२०८० आश्विन ७ गते, आईतवार ०३:०६

असोज ७, २०८० गण्डकी : पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल निर्माण सुरु गरिएको हो । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको कम्पनीले जनाएको छ ।

National Life

“काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ, वर्षायाम पनि सकिन लाग्यो, अब कामले गति लिन्छ”, निर्माण कम्पनीका इञ्जिनीयर सुदर्शन देवकोटाले भन्नुभयो, “उपकरण र कामदार कार्यस्थलमा आइसकेका छन्, निर्माण सामग्री पनि ल्याउन सुरु गरिएको छ ।” एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले बताउनुभयो । “निर्माण कम्पनीले जगको काम थालेको छ, दसैँअघि संरचना निर्माणको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “अहिले रहेको चाइना पुलको तलमाथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बनेपछि छ लेनको सडक हुन्छ ।”

गण्डकी प्रदेशको राजधानी पोखरा छिर्ने मुख्य राजमार्गको उक्त पुल साँघुरो हुँदा सवारी जामको समस्या छ । सिग्नेचर पुल बनेपछि पर्यटकीय नगरी पोखराको आकर्षण पनि बढ्ने आयोजना प्रमुख पौडेलले बताउनुभयो । “पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले पनि आकर्षक छ, यसले पोखरा घुम्ने आउने पर्यटकलाई पनि आकर्षित गर्नेछ”, उहाँले भन्नुभयो, “दुई वर्षभित्रमै काम सक्ने लक्ष्य लिइएको छ, निर्माणमा कुनै बाधा अफ्टेरो परे आयोजना कार्यालयले सहजीकरण गर्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने इञ्जिनीयर मनोज जिसीले बताउनुभयो । उहाँले निर्माण सामग्रीको गुणस्तर परीक्षणको काम पनि अन्तिम चरणमा पुगेकाले अब पूर्वाधारको काम अगाडि बढाइने बताउनुभयो । “विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको हो, देख्दा पनि यो पुल आकर्षक देखिन्छ, नेपालमा पछिल्लो समय बन्ने पुलमा बढीजसो यही प्रविधिको प्रयोग हुन थालेको छ”, इञ्जिनीयर जिसीले भन्नुभयो ।

एसियाली विकास बैंकको सहयोगमा पोखरा–मुग्लिन सडकलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । सोही आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल बनाउन लागिएको हो । कूल ८१ किमि दूरीको सो सडकलाई दुई खण्डमा बाँडेर विस्तारको काम भइरहेको हो । पश्चिम खण्डमा पोखरा–जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ । विसं २०७८ वैशाखदेखि सडक विस्तार थालिए पनि कामको गति भने सुस्त छ । पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र पश्चिम खण्डको यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले लिएको छ ।

प्रतिकृया