१० करोड लगानी गरेर दीपक-दिपाले खोले सिनेमा हल
प्रकाशित मिति
२०८० भाद्र २९ गते, शुक्रबार १२:३४
भदौ २९, २०८० काठमाडौँ: निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन् । १० करोड लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको हो ।
शुक्रबार बिहान उद्योग वाणिज्य महासंघका चन्द्र ढकाल लगायत वरिष्ठ कलाकारहरुको उपस्थितिमा हलको उद्घाटन गरिएको हो । कार्यक्रममा अध्यक्ष ढकालले अभिनयमा रमाइरहेका व्यक्तिले हल सञ्चालन गर्नु निकै राम्रो कार्य भएको बताए ।
यस्तै, दीपकराज गिरीले आफूले सञ्चालनमा ल्याएको हलमा आजैबाट निर्माता र हल व्यवसायको शेयर बाँडफाँड ५०–५० प्रतिशत गर्ने बताए । अन्य हलले ४० प्रतिशत सेयर दिँदै आएकामा उनले पचास प्रतिशत निर्मातालाई दिने बताएका हुन् । उनले भने,’ यो हाम्रो पहिलो व्यवसाय हो । आफूले जानेको कुरामै लगानी गरौं भनेर हल खोलेका हौं । शो बाँडफाँडमा हामीले हस्तक्षेप गर्न त मिल्दैन । तर चलिरहेको नेपाली फिल्मलाई हटाउँदैनौ ।’
शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो । ४ सय सिट क्षमता रहेको उक्त हलमा दुइटा अडिटोरियम रहेको छ ।
हलमा हलिउड फिल्म ‘द नन २’ र बलिउड फिल्म ‘जवान’ पनि प्रदर्शन भइरहेको छ ।
प्रतिकृया