• २१ असोज २०८३, बुधबार
  • ९ः३२ बिहान

माओवादीलाई जनयुद्धका घाइते, अपाङ्गहरुको चेतावनी, ‘समस्या बेवास्ता गरिए क्यान्टोनमेन्टभित्रको वास्तविकता बाहिर ल्याउँछौं’

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०५:११

भदौ २४, २०८० काठमाडौँ: जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जनयुद्धका घाइते, अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारलाई अपील गरेका हुन् ।

National Life

नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाईते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताए । जनयुद्धका घाईते, अपाङ्गहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको उनीहरुको भनाई छ । राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपाङ्ग र घाईतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।


जनयुद्धको घाईते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने बताए । आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा संघर्षमा उत्रिने उनले बताए । अहिले माओवादी नेताहरुको राजर्शी जीवनशैली रहेको उनले टिप्पणी गरे । ‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं । पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं ।’ उनले भने, हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वजनमुक्ति सेनाका कमाण्डर लाहानु चौधरीले आफूहरुले कसैको पनि दासत्व स्वीकार र चाकडी नगर्दा आज फेरि आवाज उठाउन पर्ने अवस्था आएको बताए । उनले पूर्वजनमुक्ति सेना कुनै पनि नेताको दास बन्न नहुने बताए । प्रधानमन्त्री प्रचण्डले जनुमक्ति सेनालाई तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवालको अगाडि प्यारालाईज गराएको आरोप लगाए । उनले प्रचण्डले संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको बताए । उनले राज्यसँग जीवनको भिख नभएर मानव अधिकार र बाँच्न पाउने हक माग्न पीडित, घाईत र अपाङ्गलाई आग्रह गरे ।


कार्यक्रममा रमेश कालिकोटे, सामाजिक अभियान्ता तारा बराल लगायतले जनयुद्धका घाईते, अपाङ्गको पक्षमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताए । माओवादी पटक–पटक सरकारमा सहभागी भएपनि जनयुद्ध लड्ने घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको वेवस्ता गरी विचल्ली अवस्थामा छाडेको उनीहरुले बताए ।

प्रतिकृया