• 10:50 pm

ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०३:१८

भदौ २४, २०८० काठमाडौँ: जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । आज १८ औँ नम्बरको प्रतिवादीका रुपमा समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको तर्फबाट बहस भएको थियो । अधिवक्ता मनोज भण्डारी, कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कमल प्रकाश घिमिरेले उनको तर्फबाट बहस गरेका हुन् ।


यसैगरी सरकारी वकिलमा सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवाली चन्द्र सञ्जेलले उठेका विषयहरुमा जवाफी बहस गरे । त्यससँगै न्यायाधीशले आइतबार दिँउसो ४ बजेसम्ममा आदेश सुनाउने बताउँदै इजलास टुंग्याएका हुन् । लिता निवास जग्गा हिनामिना प्रकरण शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा मीनबहादुर गुरुङ, घमनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेल थुनामा छन् ।


यस्तै योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरेसहित ललिता निवास प्रकरणमा १८ जना थुनामा रहेका हुन् ।


बहसपछि आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुनेछ ।

प्रतिकृया