• २१ असोज २०८३, बुधबार
  • ९ः२१ बिहान

भोजपुरका किसानको रोजाइमा चिराइतो खेती

प्रकाशित मिति

२०८० भाद्र २३ गते, शनिबार ०३:३१

भदौ २३, २०८०  भोजपुर : चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । चिराइतो बिक्रीबाट वार्षिकरुपमा रू दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताउनुभयो । यस वर्ष आफ्नो बारीमा करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन हुने उहाँको भनाइ थियो । राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताउनुभयो ।

National Life

“हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।” उहाँले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भएमा रू १० देखि १५ लाखसम्म आम्दानी हुने जानकारी दिनुभयो । यहाँ प्रति किसानले २० देखि ५० मन उत्पादन गर्ने राउतले बताउनुभयो ।


भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरु बताउँछन् । विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताउनुभयो । “यसबाट राम्रो आम्दानी लिँदै आएको छु”, उहाँले भन्नुभयो, “बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने बस्नेतको भनाइ थियो । आलु, मकैबाट रू ५० हजार आम्दानी गरेकामा सोही बारीमा चिराइतो खेती गर्दा रू पाँचदेखि सात लाखसम्म आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो । यस खेतीका लागि तालिम तथा आवश्यक ज्ञान पाएमा अझ प्रभावकारी हुने बस्नेतको भनाइ थियो । “हामीले पराम्परागत रुपमा खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यस खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोगमात्र पाएमा पनि अझ सहज हुने थियो ।” कृषकले चिराइतोलाई भदौ, असोज र कात्तिकमा सङ्कलन गर्दछन् । पछिल्लो समय यसको बजार मूल्य बढ्दै गएपछि धेरै किसान खेतीप्रति आकर्षित भएका कृषक गुणराज राउतले बताउनुभयो ।


“विगत लामो समयबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ । एक पटक सङ्कलन गरेर बिक्री गरेपछि सानो बिरुवा उत्पादन योग्य हुन समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक÷फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ ।” ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि औषधिका रुपमा चिराइतो प्रयोग गर्न सकिने कृषक राउतको भनाइ छ । उहाँका अनुसार यसको पात, डाँठ, जरा लगायत सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ ।


यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् ।

प्रतिकृया