जी २० शिखर सम्मेलनस्थलमा शक्तिराष्ट्रका नेता आउने क्रम जारी

प्रकाशित मिति

२०८० भाद्र २३ गते, शनिबार १२:४७

377109780 188459740920954 8531721979559254995 n e1694242633142

भदौ २३, २०८० नयाँदिल्ली : आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू प्रगति मैदानमा निर्माण गरिएको भारत मण्डपमा आउनेक्रम जारी छ।


यसअघि आफ्ना जापानी समकक्षी फुमियो किसिदालाई प्रधानमन्त्री मोदीले सम्मेलनस्थलमा स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई सम्मेलनस्थल मण्डपमा स्वागत गर्नुभएको छ। त्यसअघि बेलायती प्रधानमन्त्रीलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा बाह्य मामिलामन्त्री सुव्रमन्यम जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो।


पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुन विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री नयाँदिल्ली आइसक्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विश्व नेता शुक्रबार राजधानी आइपुग्नु भएको हो।


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा,दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल, जर्मन चान्सलर ओलाफ स्कोल्ज, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेल, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयसस र अन्तरराष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिल्बर्ट एफ होङबो पनि जी २० सम्मेलनस्थलमा पुग्नुभएको छ। प्रधानमन्त्री मोदीले उहाँहरूसँग अङ्कमाल गर्दै हात मिलाएर तस्बिर खिचाउनुभएको छ।


यसैगरी विश्व ब्याङ्कका अध्यक्ष अजय बङ्गा, अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टालिना जर्जिएभा, अफ्रिकी सङ्घका अध्यक्ष अजाली असुमानी, साउदी अरबका प्रधानमन्त्री तथा युवराज मोहम्मद बिन सलमान अल साउद पनि सम्मेलनस्थलमा आइपुग्नु भएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ।


उहाँले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिनुभएको हो। प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताउनुभएको छ । केही बेरमै शुरु हुने शिखर सम्मेलनमा युरोपेली सङ्घका ३० भन्दा बढी राष्ट्र प्रमुख तथा उच्च अधिकारी र आमन्त्रित अतिथि देश र १४ वटा अन्तरराष्ट्रिय सङ्गठनका प्रमुखको सहभागिता रहने बाह्य मामिला मन्त्रालयले जनाएको छ।


आइतबार सम्पन्न हुने जी २० बैठकमा विश्वका अधिकांश राष्ट्रका एक लाख प्रतिनिधिले भाग लिने बताइएको छ। अध्यक्षका रुपमा भारतले वर्षभरिमा जी २० सँग सम्बन्धित दुई सय वटा बैठक देशका विभिन्न ६० शहरमा आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिकृया