• १८:४७ २०८१ बैशाख १ गते
  • 6:47 pm

सरकारले ‘हेलो सरकार’ सेवा २४ घण्टा सञ्चालन गर्ने

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ०३:२८

prachandas e1693733812462

भदौ १७, २०८० काठमाडौँ: सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन्।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको सेवा विस्तार गरेको हो। यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइवर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ।


हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।


हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।


हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरण समेत गर्ने व्यवस्था मिलाइएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ।


उक्त सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् ।


गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टिमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले बताए । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ। मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

प्रतिकृया