• १० असोज २०८३, शनिबार
  • ४ः४६ बेलुका

म्याग्दीको गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै

प्रकाशित मिति

२०८० भाद्र १६ गते, शनिबार ०१:०६

भदौ १६, २०८० गलेश्वर : म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो ।

National Life

डिभिजन वन कार्यालयको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवालगायत अन्य बहुमूल्य जडीबुटी निकै राम्रोसँग फस्टाउँदै गएकाले गुर्जालाई जडीबुटीको ‘हब’ र अध्ययन केन्द्र बनाउन लागिएको धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।


समूहमा आबद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर रोपेका बिरुवा अहिले उत्खननयोग्य बनेका उहाँले बताउनुभयो । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुङ्गाको एक सय पाँच मिटर लामो पर्खालसमेत निर्माण्। गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

“हामीले जडिबुटी खेतीको पनि परीक्षण गरिसक्यौँ”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “परीक्षण सफल भयो, अब हामीले गुर्जालाई देशैभरिका अध्ययेताका लागि लक्षित गरी जडीबुटी अध्ययन केन्द्र बनाउने तयारी गरेका छौँ ।” उहाँका अनुसार यहाँ अतिस, विषमा, खिरौला, विषजरा, पदमचाल, अमलवेद लगायतका दुई दर्जन बढी प्रजातिका जडीबुटीको खेती सुरु गरिएको छ ।

डिभिजन वन कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा जडीबुटी खेतीका लागि रु चार लाख ८० हजार सहयोग गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । “उपभोक्ताले कूल लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्”, उहाँले भन्नुभयो “प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत कार्यालयले सहयोग गरेको हो ।” यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेती विस्तार गरिएको हो ।


बाँझो खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जडीबुटी खेती समूहका अध्यक्ष तुलसी छन्त्यालले जानकारी दिनुभयो । “यसअघि गरिएको खेती सफल भयो, यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ”, उहाँले भन्नुभयो, “बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।”


विसं २०७७ मा सात हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपिएका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आवद्ध किसानले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।


समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ । यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्दतिको रूपमा अतिस प्रयोग हुन्छ ।

प्रतिकृया