• १७:४२ २०८१ बैशाख १ गते
  • 5:42 pm

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन

प्रकाशित मिति

२०८० भाद्र १५ गते, शुक्रबार १०:३९

chauri

भदौ १५, २०८० फिक्कल : चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहनुभएको छ । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । उहाँले घरपालुवा उराङ जातिका चौँरीपालन गरेको बताउनुभयो ।


सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिँदै आएको छ । उनीहरुले दूध, घ्यू र छुर्पी बेचेर वार्षिकरूपमा रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालनमा युवाले सक्रियता देखाएका छन् ।


लेकाली हावापानी शीतल–सुन्दर घाँसेमैदानमा सन्दकपुर–२ को धुपीक्षेत्र चौँरीपालनको पकेट क्षेत्र हो । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी चौँरीका लागि अनुकूल मानिन्छ । चौँरी घरपालुवा र जङ्गली गरी दुई प्रकारको हुन्छ । उराङ जातको चौँरीलाई घरमा पाल्ने गरिएको छ ।


फालेलुङमा चौँरीपालन व्यवसाय पछिल्लो समय बढ्दै गएको छ । चौँरीपालनमा युवा बढी संलग्न छन् । चौँरीको दूधबाट मात्र होइन रौँबाट पनि आम्दानी हुने गरेको छ । रौँबाट राडीपाखी बन्ने गरेको छ । गाई किर्खोबाट जन्मिने चौँरीलाई ‘उराङ’ र पहाडी गोरु याकको सङ्सर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौँरीजस्तै दुधालु हुन्छ । तर झोप्क्यो (भाले) भने भारी बोक्न काम लाग्छ ।

प्रतिकृया