सामाजिक सद्भावमा खलल पार्ने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट दिँदैन : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १२:४०

prachanda e1693292110249

भदौ १२, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पुग्ने कुनैपनि किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको बताएका छन् ।


मंगलबार प्रतिनिधि सभा बैठकमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्भावमा खलल पार्ने वा एक अर्काको संस्कृति र धर्म विरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले भने–‘नेपाल बहुभाषिक, बहुजातीय, विविधता बोकेको नेपालमा सदियौँदेखि विभिन्न जात, जाती, वर्ण, धर्म र संस्कृतिका जनताहरू आपसी सहकार्य र गहिरो सद्भावका साथ मिलीजुली बस्दै आएका छन् । अनेकतामा एकता नेपाली मात्रको विशिष्टता नेपाली मात्रको आधारभूत चरित्र पनि हो । सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र सम्वद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो दरिलो भई साँचो अर्थमा राष्ट्रियता बलियो हुनेछ ।’


उनले नेपालको संविधानको पालना गर्नु हरेक नागरिकको समान दायित्व रहेको बताउँदै आफूले पहिचानको कुरा गर्दा अरु कसैको पहिचान आस्थामाथि कुनै खालको विभेद नगर्ने स्पष्ट पारे ।


उनले लोकतान्त्रिक विधि र पद्धति मार्फत सामाजिक न्याय र सुशासन सहितको समृद्धि हासिल गर्ने तरिकाले सरकारका सबै क्रियाकलापहरू केन्द्रित भएको बताए । उनले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रतिकृया