एसिया कपका लागि पाकिस्तान पुगेकाे नेपाली खेलाडीलाई पीसीबीद्वारा स्वागत
प्रकाशित मिति
२०८० भाद्र ७ गते, बिहीबार ११:३४
भदौ ७, २०८० काठमाडौँ: एसिया कप खेल्न पाकिस्तान पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी) ले स्वागत गरेकाे छ । हिजाे बिहान एसिया कपका लागि अभ्यास गर्ने नेपाली टाेली पाकिस्तानकाे कराँची पुगेकाे हाे ।
एसिया कप यही अगस्ट ३० तारिखदेखि शुरु हुँदैछ । प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म सञ्चालन हुनेछ । नेपाली टाेली भने अभ्यास गर्नका लागि हिजै पाकिस्तान पुगेकाे हाे ।

यसपाला एसिया कप पाकिस्तानमा आयाेजना भए पनि भारत सँगका खेल सबै श्रीलङ्कामा हुने छन् । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। जसमा समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।

नेपालले अगस्ट ३० मा पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु पनि गर्दैछ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्काे बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलङ्का जानेछ ।
रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि सन्दीपको सहभागिताबारे टुङ्गो लागिसकेकाे छैन ।




प्रतिकृया