• 8:25 am

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ११:१५

भदौ ४, २०८० काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ । समितिले श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग बिहान १०:३० बजे छलफल गरेपछि श्रेष्ठसँग ११:३० बजे छलफल गर्ने गरी समय निर्धारण गरेको छ ।


समितिको आइतबार बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको हाे ।


प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुईवटा र पत्रमार्फत् एउटा उजुरी परेका छन् । इमेलबाट उजुरी दिएका सम्पर्कमा नआएकाले पत्रमार्फत् उजुरी दिएका एकजना उजुरीकर्तासँग मात्रै छलफल गर्ने समितिको तयारी छ । संसदीय सुनुवाइ समितिबाट श्रेष्ठको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। कामु प्रधानन्यायाधीशको रूपमा श्रेष्ठले साउन २१ गतेबाट न्यायपालिकाको नेतृत्व गरिरहेका छन् ।


उनीविरुद्ध साउन २३ गते १० दिनको समय राखेर उजुरी आह्वान गरिएको थियो । यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।


२०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेसँगै न्यायपालिका कामुप्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आइरहेको छ। जबरा निलम्बनमा परेपछि न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम लिएका थिए । उनले करिब ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि अवकाश लिएका थिए। त्यसपश्चात् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।


कामु प्रधानन्यायाधीश श्रेष्ठ कानुन सेवाबाट सन् १९८४ बाट सरकारी सेवामा प्रवेश गरेका थिए। जिल्ला न्यायाधीश, पुनरोवदन अदालतको न्यायाधीश हुँदै उनी सन् २०१६ मा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए ।

प्रतिकृया