प्रदेशसभाको बैठक छाडेर काठमाडौं लागिन् कोशीकी उपसभामुख, संकटमा मुख्यमन्त्री
प्रकाशित मिति
२०८० भाद्र ४ गते, सोमबार १०:४१

भदौ ४, २०८० काठमाडौँ: मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन आज (सोमबार) का लागि आह्वान गरिएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छन् । त्यहाँका तत्कालीन सभामुख बाबुराम गाैतमले राजीनामा दिएका कारण उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने थियो।
तर आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाएर उपसभापति दनुवार काठमाडौं लागेकी हुन् । उनी बिहान साढे ८ बजे यति एयरलाइन्सको जहाजबाट काठमाडौं उडेकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । योसँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ ।
यस्तै मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने भएपछि विपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजै आफ्ना सांसदहरूलाई बिदामा राखिसकेको छ ।
कूल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा सत्ता गठबन्धनका दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् ।
उता प्रतिपक्षतर्फ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सदस्य छन्। प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।
प्रतिकृया