युनिलिभर नेपालको प्रतिसेयर आम्दानी २ हजार नजिक, सेयर मूल्य ३७ हजार
प्रकाशित मिति
२०८० श्रावण ३२ गते, बिहीबार ०१:४२

३२ श्रावण २०८०, काठमाडौँ: बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ८३ करोड खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९ प्रतिशत बढी हो। कम्पनीले अघिल्लो आवमा १ अर्ब ५४ करोड नाफा कमाएको थियो ।
कम्पनीको व्यापार बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ थियो ।
कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेन्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५८.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी १६.३४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५.२५ प्रतिशत बढेको छ। कम्पनीको कच्चा पदार्थलगायतको खर्च तीन अर्ब ९६ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यस्तै कर्मचारी खर्च पनि ५२ करोड ३३ लाखबाट बढेर ५९ करोड पुगेको छ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीसँग हाल ६ अर्ब ३३ करोड रुपैयाँ अधिकको सम्पत्ति छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१२ रुपैयाँ ७० पैसा बढेर १ हजार ९८६ रुपैयाँ ९७ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ ।
प्रतिकृया