• 4:14 pm

भारतको हिमाचलमा विपद्जन्य घटनामा २१ जनाको मृत्यु, केही व्यक्ति बेपत्ता

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार १०:४८

३० श्रावण २०८०, काठमाडौँ:  भारतको हिमाचल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टायता हिमाचलका विभिन्न स्थानमा आएको बाढीपहिरो र चट्याङका कारण अहिलेसम्म २१ जनाभन्दा बढीले ज्यान गुमाएका हुन् ।

२१ जनाको मृत्यु हुनुका साथै केही नागरिक बेपत्ता भएको हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताए । उनले प्रभावित क्षेत्रको अवस्थाबारे समेत जानकारी लिएका थिए । “पछिल्लो २४ घण्टामा भारी वर्षाले धेरै मानिसको ज्यान लिएको छ । हालसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” उनले भने ।

स्थानीय अधिकारीका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । सो क्षेत्रमा अरू केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ ।

यस्तै, सिमलाको फागलीमा पहिरोमा परी चारजनाको मृत्यु भएको बताइएको छ । सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ । मण्डीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । मण्डीकै बम्बोला गाउँमा घर भत्कँदा दुईजनाको मृत्यु भएको छ । सोलानको बलेरा गाउँमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

मनसुन सुरु भएयता भारतको हिमाचल प्रदेश बढी प्रभावित छ । खराब मौसमका कारण सोमबार हिमाचलका शैक्षिक संस्थाहरू बन्द गराइएको थियो । सिन्ह्वा

प्रतिकृया