ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नराखि सवारी चलाउने ४१ जना कारवाहीमा 

प्रकाशित मिति

२०८० श्रावण २७ गते, शनिबार ११:१६

365608688 3554673331439437 7256403320650738943 n

 

२७ श्रावण २०८०, काठमाडौँ :   काठमाडौँको थानकोट र नागढुङ्गामा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखि सवारी चलाउने ४१ जना चालकलाई कारवाही गर्नुको साथै लागुपदार्थ सेवन गरी सवारी चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।


जस मध्ये थानकोटमा गरिएको चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ४० भन्दा बढी सवारी साधन चेक गर्दा पिकअप जिप ११ ओटा, हाइस १९, टाटासुमो ६, बस २ र अन्य सवारी साधन ६ गरी ४१ ओटा सवारी साधनको यान्त्रिक अवस्था ठिक नभएको पाइएको थियो ।


कारवाहीमा परेका सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।त्यस्तै काठमाडौंको नागढुङ्गामा आजै (शुक्रबार) गरिएको लापसे चेकिङका क्रममा ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा
लिएको छ ।


नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३-००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका ५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख ८२ २१ नम्बरको ट्रक चालक नवलपरासी बर्दघाट सुस्ता पुर्वको कावासोती नगरपालिका १६ का २८ वर्षीय अजय बिष्ट रहेका छन् । नियन्त्रणमा लिएका तिनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।


नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले आज‍ २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भनेलागुपदार्थ सेवन गरी सवारी साधन चलाएको
अवस्थामा फेला परेका थिए ।


सवारी दुर्घटना न्युनिकरणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा नियमित चेकिङका साथै विषेश चेकिङहरु समेत संचालन गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो ।

प्रतिकृया