विद्युत् प्राधिकरणको नाफा घट्यो, आईपीओ निकाल्ने तयारी
प्रकाशित मिति
२०८० श्रावण २५ गते, बिहीबार ०५:२२
२५ श्रावण २०८०, काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा नाफा एक अर्ब पाँच करोड घटेको हो । प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङले गत वर्ष नाफा घटेको जानकारी दिएका हुन् । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष २०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा नाफा घटेको घिसिङले बताए । आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको उनको भनाइ छ ।
प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको घिसिङले बताए ।
प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रकृया अगाडि बढाइएको पनि उनले जानकारी दिए । संस्थाले आईपीओका लागि इक्रा नेपालबाट इक्रा एनपी डबल ए प्लस माइनस रेटिङ प्राप्त गरको छ ।
प्राधिकरणले विगत दुई वर्षमा आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको जानकारी दिइएको छ । साथै, सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको पनि घिसिङले जानकारी दिए ।
प्रतिकृया