एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

प्रकाशित मिति

२०८० श्रावण २२ गते, सोमबार ०२:०८

emale2

२२ श्रावण २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सोमबारको बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै अवरोध गरेको हो । बैठकको सुरुमै समय लिएर बोल्दै एमाले सांसद दिलकुमारी रावल पार्वतीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन नभएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी थिइन् ।

उनले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकार गम्भीर नभएको पनि बताइन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक-पटक एमालेका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए । तर, एमालेका सांसदहरूले उठेर विरोध जनाइरहेपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै पछिल्लो दुई सातादेखि संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिकृया